५ असोज, काठमाडौं । एमाले पार्टीको अभ्यासमा विगतमा केन्द्रीय कमिटी लगायतका बैठकहरूको सुरूवात महासचिवले गर्थे ।
अध्यक्षलाई अध्यक्षताका लागि अनुरोध गर्थे । त्यसपछि अध्यक्षले उद्घाटन मन्तव्य दिन्थे । अध्यक्षले आफ्नो धारणा राखेपछि बैठकका लागि तय गरिएका नियमहरूका आधारमा बैठक चल्थ्यो ।
वर्षौंदेखि एमालेका केन्द्रीय बैठकहरूमा सहभागी हुँदै आएका नेताहरूका लागि सोमबारको बैठक भने नौलो रह्यो । अध्यक्ष केपी शर्मा ओलीले आफैं बैठकको सुरुवात गरे । उद्घाटन मन्तव्य दिए । मन्तव्यका क्रममै उनले बैठकमा अनुशासनको पाठ पढाए । त्यसपछि आफ्नो प्रतिवेदन आफैं पढे । बैठकको अन्त्य गरेर हिँडे । विगतमा उनी यसो गर्दैनथे ।
महासचिवले नै बैठक सञ्चालन गर्थे । प्रतिवेदन पढ्नका लागि पनि ओलीले अन्य नेतालाई नै जिम्मेवारी दिने गरेका थिए । तर आज ओली फरक देखिए- केन्द्रीय कमिटीको बैठकमा एकल प्रस्तुति दिएर हिँडे ।
उनले बैठकमा केन्द्रीय सदस्यहरूलाई बैठकमा अनुशासनको निर्देशन दिँदै भने- भोलिबाट मोबाइल बाहिर राख्नुपर्नेछ । मोबाइल रेकर्ड मोडमा राख्न पाइने छैन । आसन छोड्दा अध्यक्षको अनुमति लिनुपर्नेछ ।बोल्नुपर्दा अध्यक्षको ध्यानाकर्षण गराएर मात्रै बोल्नुपर्नेछ । विशेष परिस्थितिमा अध्यक्षलाई लागेमा समय फेरफेर हुनसक्नेछ ।’

टिप्पणीहरू (0)