६ असोज, सर्लाही । जलवायु परिवर्तन तथा अतिक्रमणको चपेटामा परेर तराईमा पानीका प्राकृतिक स्रोत क्रमशः सुक्दै जान थालेका छन् । पानीका मुहान र जैविक संरचनामाथिको मानवीय अतिक्रमणले समस्या मात्रै निम्त्याएको छैन, वातावरण संरक्षणमा समेत चुनौती थपिएको छ। पानीका स्रोत सुक्दै जाँदा मानव जीवन नै सङ्कटमा पर्दै गएको पूर्वसङ्केत देखिन थालेको छ।
सर्लाहीको बागमती नगरपालिका–९, तेजपुरका भुवन निरौलालाई पछिल्ला केही वर्षदेखि सोती खोलामा बढेको अतिक्रमणको चिन्ताले सताउन थालेको छ। उनको घरबाट करिब सय मिटरको दूरीमा एक दशकअघिसम्म फराकिलो सिमसार क्षेत्र थियो। झण्डै १६ बिघामा फैलिएको उक्त सिमसार अर्थात् सोतीको मुहान अहिले अतिक्रमणका कारण हराइसकेको छ। ‘यहाँ ठूलो सिमसार क्षेत्र थियो’, उनले स्मरण गर्दै भने, ‘वर्षातको पानी जम्मा भएर पोखरी बनेर बस्थ्यो। हिउँदभरि भूमिगत (जरुवा) पानी निस्किएर सोती बग्थ्यो। अहिले त्यो सिमसार छैन। पानी त कहाँबाट आउनु ? अहिले खोला सुकिसकेको छ।’
अतिक्रमित मुहान क्षेत्रबाट डेढ किलोमिटर बगेपछि सोती बरहथवा नगरपालिका प्रवेश गर्छ। विगतमा फराकिलो भएर बग्ने सोतीलाई बरहथवा क्षेत्रमा अहिले दुवैतर्फबाट माटो, ढुङ्गा र ग्राभेल हालेर पुर्ने क्रम तीव्र बनेको छ। यसले खोलाको मौलिक स्वरूप मात्र बदलिएको छैन, जैविक विविधता पनि हराउँदै गएको छ।
आफूले थाहा पाउँदासम्म कलकल बग्ने सोतीको सफा पानी स्थानीयले पिउनसमेत प्रयोग गर्ने गरेको बरहथवा नगरपालिका–९, मूर्तियाका विश्वनाथ महतोले बताए । ‘यो सोती देख्दा आज रोइरहेको भान हुन्छ’, उनले भने, ‘यो हाम्रो धार्मिक आस्थासँग जोडिएको छ। खोलाको जैविक विविधतामाथि निरन्तर आक्रमण भइरहेको छ। हामीले यसैमा डुबुल्की मार्दै बालापन बिताएका हौँ। केही वर्ष पहिलेसम्म पशुबस्तु नुहाउनेदेखि भातभान्सासम्म यसैको भर थियो। अहिले हरेक वर्ष सोतीको सतह घट्दै गएको छ। आकार खुम्चँदै गएको छ।’

cvdfcdf